काठमाडौँ । पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा नो भोटको व्यवस्था गर्न आह्वान गरेका छन् । यसो हुनसके राजनीतिक दलहरुलाई जनताले रुचाएका उम्मेदवार उठाउन दबाब हुने उनले दाबी गरे ।
काठमाडौं स्कुल अफ ल भक्तपुरले वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र पारदर्शी बनाउन चाल्नुपर्ने कदमहरु विषयमा सोमबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन खर्चमा वृद्धि नै निर्वाचनको अहिलेको मुख्य चुनौती रहेको बताए । पहिला- पहिला भए निर्वाचनको मुख्य चुनौती सुरक्षा हुन्थ्यो, उनले भने- अहिले समयसँगै निर्वाचनका चुनौतीहरु परिवर्तन देखिए ।
निर्वाचनमा ९० प्रतिशत उम्मेदवारहरुले दिएको खर्चको विवरण झुटा हुने उनले बताए । उनीहरुले निर्वाचन आयोगले तोकेको सिमाभन्दा वढी नै खर्च गरे पनि कम खर्च गरेर झुठो हिसाव विवरण पेश गर्ने उनले बताए ।
पूर्व अर्थ सचिव शिशिर ढुंगानाले जसरी पनि चुनाव जित्न जति पनि पैसा खर्च गर्नु गलत भएको बताए । चुनाव खर्चका लागि व्यापारी वा अन्यसँग पैसा चन्दा माग्दा जितेपछि जनताको होइन चन्दावालको इच्छा अनुसार काम गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ थियो । यस हिसावले विजयी उम्मेदवार जनताप्रति नभई चन्दा दाताको रुचि अनुसार काम गर्नुपर्ने उनले बताए । यही कारण चुनेर पठाउने जनतामा वितृष्णा पैदा हुने उनले बताए ।