
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार मिलेर भाग खान बनेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ लगायतका चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले राष्ट्रियताको कुरा सुन्नै नसक्ने गठबन्धनका उम्मेदवारलाई नभई एमालेलाई जिताउनुपर्ने बताए । एमालेसँग देश बचाउने र बनाउने भिजन रहेको उनले दाबी गरे ।
अध्यक्ष ओलीले विश्वप्रकाश र अग्नि खरेल होइन, विकास कि विनाशबीचको लडाइँ भएको उल्लेख गरे । उनले जनताले यो निर्वाचनमा गल्ती नगर्ने समेत विश्वास व्यक्त गरे ।
ओली एमालेले कार्यकर्ता खपत गर्नकै लागि झापा १ मा अग्नि खरेललाई नपठाएको बताए । नीति निर्माण र सरकार चलाउन सक्छन् भनेर खरेललाई पठाएको ओलीको भनाइ थियो ।
खरेललाई अर्को क्षेत्रबाट आएको आगन्तुक उम्मेदवार भन्नेहरुलाई ओलीले भने, ‘एउटा छाप्रा हालेकै भरमा स्थानीय भन्ने हो भने खरेलको पनि यो क्षेत्रमा एउटा छाप्रा हालदिउँला।’ उनले भने, ‘एमाले जतिको पार्टीले एउटा छाप्रा हाल्न नसक्ने कुरै भएन ।’
साथै ओलीले सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने समेत बताए । राप्रपा गठबन्धनमा नगएर आफूतिर आएकाले त्यो पार्टीका उम्मेदवारलाई एमालेले जिताउने उनको भनाइ थियो ।