आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न आयोग खुट्टा कमाउँदैनः आयुक्त भण्डारी

काठमाण्डौं । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहीता उल्लंघनका घटना कम भएको बताएको छ । आयोगले निर्वाचन आचारसंहीतालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र आचारसंहीता उल्लंघनका घटना भएको बताएको हो ।

आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्रै आचारसंहीता उल्लंघन भएको तर स्थिर समयमा बढी आचारसंहीता उल्लंघन हुनसक्ने बताए ।

उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्नसक्ने भन्दै आयोगले सोही अनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको बताए । उनले निर्वाचन आचारसंहितालाई स्थिर समयमा हुनसक्ने उल्लंघनलाई मध्यनजर गरी निगरानीमा कडाइ गरेको बताए । निर्वाचन आयोग निर्वाचन आचारसंहीता उल्लंघन नगर्न र नगराउनका लागि गौंडा गौंडामा बिना बर्दीमा खटिएको भन्दै निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहीतालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न पनि चेतावनी दिए ।

निर्वाचन आयुक्त भण्डारीले आयोगलाई आचारसंहीता कडा गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानूनको कार्यान्वयन गराउन यस पटकको निर्वाचनमा आयोगले आचारसंहीतामा कडाइ गरिरहेको बताए । उनले आयोगले आचारसंहीता कडाईबारे विभिन्न राजनीतिक दल र नेताहरुसँगको छलफलपछि नै निर्णय लिएको बताए । निर्वाचन आयुक्त भण्डारीले आयोगले गत स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी यस पटक हुन नदिन गहन अध्ययन गरी आचारसंहीता लागू गरेको स्मरण गराए । उनले आचारसंहीतामा कडाइ नगरे स्वच्छ, निष्पक्ष, भयरहीत निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनलाई पूर्ण रुपमा सुसम्पन्न गर्न आयोग हरक्षण लागेको बताए । आयोगले गरेको कामलाई अहिले आम जनताले साथ र सहयोग गरेको भन्दै आचारसंहीता उल्लंघन गर्नेलाई कानून अनुसार कारबाही गर्न आयोगले खुट्टा नकमाउने दाबी गरे ।

निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार, कार्यकर्ता र राजनीतिक दलहरुलाई आयोगले कानूनद्वारा निषेध गरेका विषयवस्तु र निर्वाचनलाई धक्का पुग्ने काम बाहेकका गतिविधि गर्न नरोकेको स्पष्ट पारे । उनले आम नागरिकहरुलाई पनि निर्वाचन बिथोल्ने किसिमका गतिविधि बाहेक अन्य कुनै कुरामा निषेध नगरेको बताए । आयुक्त भण्डारीले विगतका निर्वाचनमा सडकभर पर्चा, पम्प्लेट, झण्डा देखिने गरे पनि यस पटकको निर्वाचनमा कुनैपनि त्यस्ता सामग्रीहरु छरपस्ट नरहेको बताए ।

उनले आयोगले पर्चा, पम्प्लेट, झण्डा टाँग्न नदिँदा निर्वाचन खर्चमा समेत मितव्ययिता भएको बताए । उनले आयोगको कडाईका कारण नै दल र उम्मेदवारहरुले पनि आचारसंहीताको पूर्ण पालना गरेको खण्डमा मितव्ययी निर्वाचन हुनसक्ने रहेछ भन्ने महशुस गरेको बताए । निर्वाचन आयुक्त भण्डारीले आवधिक निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष भएकाले यसलाई कुरुप बनाउने अधिकार कसैलाई नरहेको भन्दै स्वतन्त्र अभिव्यक्ति भनिरहँदा अर्को व्यक्तिको अधिकार हनन गर्ने काम गर्नु नहुने बताए ।

निर्वाचन आयुक्त भण्डारीले आयोगसँग निर्वाचनका लागि पर्याप्त समय नहुँदा मतदाता शिक्षा प्रभावकारी बन्न नसकेको बताए । उनले आयोगले निर्वाचनका लागि कुल १२० दिन पाउनुपर्ने भए पनि यस पटकको निर्वाचनमा समेत सय दिनको हाराहारीमा मात्रै समय उपलब्ध भएको बताए । उनले निर्वाचन आयोगले मतदाता शिक्षालाई कमजोरी र कमी हुन नदिने प्रतिवद्धता जनाए । निर्वाचन आयुक्त भण्डारीले शैक्षिक स्तरको पाठ्यक्रममा नै राखेर मतदाता शिक्षाको विकास र जनतालाई सुसुचित बनाउन जरुरी रहेको बताए । उनले विकसित मुलुकमा पनि मतपत्र बदर हुने गरेको भन्दै मतदाता सचेत भएर मतदान गरेको खण्डमा मतपत्र बदर हुनसक्ने कुरालाई कमी गर्न सकिने बताए ।

निर्वाचन आयुक्त भण्डारीले मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनको लागि भने नयाँ कानूनको निर्माण गर्न अपरिहार्य रहेको बताए । उनले मतदाता शिक्षा प्रभावकारी बनाउने कुरामा निर्वाचन आयोगले लोभ नगरेको बताए ।


Published :३ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media