काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले हालै सम्पन्न आमनिर्वाचनको परिणामले राजनीतिक अस्थिरता ननिम्तिने बताएका छन् ।
४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एमालेका शीर्षनेता पराजित भएका बेला उपाध्यक्ष नेम्वाङले निर्वाचनको परिणाम जस्तो आएको भए पनि राजनीतिक अस्थिरता आउन दिन नहुनेमा जोड दिए ।
इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले राजनीतिक अस्थिरता आउन नदिन सबै दल र नेताहरु सचेत रहनुपर्ने बताए ।
मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको र सोहीअनुसार मिश्रित परिणाम आउनेबारे सबै दल जानकार रहेको भन्दै उनले राजनीतिक अस्थिरता आउन नदिने गरी काम गर्नुपर्ने बताए ।
लोकतन्त्रमा निषेधको राजनीति गर्न नहुने आफूहरुको विचारलाई जनताले पनि निषेधको राजनीति पराजित भएको भन्दै उनले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न जनादेश आएको बताए । जनादेशअनुसार राजनीतिक दल अघि बढ्नुपर्ने उनले बताए ।
एमालेलाई सरकारमा जान आतुर नरहेको भन्दै नेम्वाङले अहिलेको जनादेशअनुसार नै अघि बढ्नुपर्ने बताए ।