काठमाडौं । निर्वाचन आयोगले समानुपातिकमा प्राप्त सिटका आधारमा समानुपातिक सांसदको नाम आज दिउँसो ४ बजेसम्म पठाउन पत्राचार गरेको छ । तर अहिलेसम्म कुनै पनि राजनीतिक दलले सांसदको सूची निर्वाचन आयोगमा बुझाउन सकेका छैनन् ।
सांसदको अन्तिम सूची तयार गर्न आज नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार बैठक बोलाएका छन् । राजनीति दलहरूले क्लस्टरअनुसार सांसदको नाम पठाउनुपर्ने भएकाले नेताहरुले आन्तरिक छलफल तीब्र पारेका छन् । प्रतिनिधिसभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम आयोगसमक्ष पेस गर्नुपर्ने हुन्छ ।
यसपटक कांग्रेसले प्रत्यक्षमा भने ५७ र समानुपातिकमा ३२ गरेर ८९ सिट पाएको छ । एमालेले भने प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ । यसकै आधारमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम परिमाणले कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएको हो ।
समानुपातिकतर्फ लोकप्रिय मत पाएर एमाले दोस्रो दल बन्यो । प्रतिनिधिसभामा कांग्रेसको ८९ सिट हुँदा एमालेको ७८ सिट तय भयो। जम्मा सदरमत १ करोड ५ लाख ६० हजार ८२ मा एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ भने कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत पाएको छ ।
कांग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्र तेस्रो दल बनेको छ। उसले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिट जितेको छ। माओवादी केन्द्रको समानुपातिकमा ११ लाख ७५ हजार ६ सय ८४ मत छ। प्रतिनिधिसभातर्फ पहिलो पटक निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेर चौथो ठूलो शक्तिका रूपमा उदाएको छ। रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ। रास्वपाले समानुपातिकमा माओवादी केन्द्रकै हाराहारी मत ल्याएको छ। उसले ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएको छ ।
अघिल्लो निर्वाचनमा थ्रेस होल्ड कटाउन नसकेर १ सिटमा थन्किएको राष्ट्रिय प्रजातन्त्र पार्टी १४ सिटसहित पाँचौं दलमा उक्लिएको छ। उसले प्रत्यक्ष र समानुपातिकमा ७/७ सिट जितेको छ। ५ लाख ८८ हजार ८ सय ४९ मत समानुपातिकमा जम्मा गरेको छ। अघिल्लो निर्वाचनभन्दा खुम्चिए पनि जनता समाजवादी पार्टीले यो निर्वाचनमा १२ सिट ल्याएको छ। उसले पनि प्रत्यक्षमा ७ र समानुपातिकमा ५ सिट ल्याएको छ । जसपाले समानुपातिकमा ४ लाख २१ हजार ३ सय १४ मत पायो।
बिखण्डनको नारा लगाएर राजनीतिमा आएका सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले यो निर्वाचनमा थ्रेसहोल्ड कटाउँदै सातौं ठूलो दल भएको छ । प्रत्यक्ष १ सिट जितेको उसले समानुपातिकमा ५ सिट पाएको छ । जनमतको प्रतिनिधिसभामा ६ सिट भएको छ । उसले समानुपातिकमा ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएको छ ।
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजावादीले यो निर्वाचनमा थ्रेसहोल्ड पनि कटाउन सकेन । उसले प्रत्यक्षमा १० सिट जिते पनि थ्रेसहोल्ड नकटाउँदा समानुपातिकबाट सिट पाएन । यता पहिलो पटक निर्वाचनमा होमिएको सिके राउतको पार्टी जनमत पार्टीको प्रतिनिधिसभा र प्रदेशसभा गरेर समानुपातिकबाट १४ सिट ल्याएको छ।
पहिलो पटक चुनावमा सहभागी भएर चौथो भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै १३ सिट जितेको छ । उसले प्रदेशसभामा भने उम्मेदवारी नै दिएको थिएन। प्रत्यक्षमा जिते पनि एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा, राष्ट्रिय जनमोर्चाले थ्रेस होल्ड कटाउन सकेनन् । यो निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा ४ सिट जितेको छ। भने नागरिक उन्मुक्तिले ३, नेमकिपा, जनमोर्चाले १/१ सिट जितेका छन्। स्वतन्त्रले ५ सिट जितेका छन्। प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन ३ प्रतिशत मत चाहिन्छ भने प्रदेशसभामा १.५ प्रतिशत भए पुग्छ।
बन्दसूचीअनुसार नाम मिले वा नमिलेको आयोगले जाँच गर्छ र नमिले सोमबारसम्म दलहरूले सच्याउन समय पाउनेछ ।