प्रधानमन्त्रीमा पाएको विश्वासको मतलाई नगुमाउने प्रम प्रचण्डको प्रतिबद्धता

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका क्रममा मतदातासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न आफू कटिबद्ध रहेको बताएका छन्  ।

गोरखा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्ना मतदातालाई धोका नदिने बताए । उनले संसदमा सबै दलबाट विश्वासको मत पाउँदा गोरखाबासीलाई सम्झेको बताए ।

‘सबै दलबाट प्रधानमन्त्रीमा विश्वासको मत पाउँदा तपाईंहरुलाई सम्झेँ । हामी तपाईंहरुको अगाडि गरेका प्रतिबद्धता पूरा गर्न निरन्तर अगाडि बढ्नेछौं,’सम्बोधनका क्रममा उनले भने।

पृथ्वी जयन्तीका अवसरमा उद्योग वाणिज्य संघले आयोजना गरेको गोरखा महोत्सव उद्घाटन गर्न प्रचण्ड आएका हुन् ।

प्रचण्डले सबै राजनीतिक दलहरुको सहमतिबाट आफूले प्रधानमन्त्रीमा विश्वासको मत पाएकाले अवसरलाई नगुमाउने उनले बचन दिए । उनले भने, ‘सबै राजनीतिक दलको सहमतिबाट मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिएँ । यो जिम्मेवारी, यो ऐतिहासिक अवसरलाई पूरा गर्न म तपाईंहरुको साथमा रहनेछु ।’ गोरखाबासीका समस्या समाधान गर्न आफू नेतृत्वको सरकारको साथ रहने उनले बताए ।

प्रचण्ड चितवन छाडेर मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा गोरखा २ बाट चुनाव लडेका थिए ।

तेस्रो पटक प्रधानन्त्री भएपछि प्रचण्ड पहिलो पटक गोरखा आएका हुन् । प्रचण्डले मंगलबार मात्रै संसदमा विश्वासको मत लिएका हुन् ।


Published :२७ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media