युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा एक मन्त्री र तीन बालबालिकासहित १८ जनाको मृत्यु

काठमाडौँ । युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरूसमेत छन् ।

मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ । हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्सकीसहित आठ जना सवार थिए ।

उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ । उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन् । एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल लगिएको छ।

जलिरहेको भवनबाहिर हेलिकप्टरको भग्नावशेष छरिएको देखिन्छ । शिशुशिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँका कर्मचारीलाई अन्यत्र लगिएको थियो।  दुर्घटना हुँदा त्यहाँ निकै अँध्यारो थियो र हुस्सु लागेको थियो। प्रारम्भिक विवरणहरूका अनुसार दुर्घटनाअघि हेलिकप्टर उक्त विद्यालयको भवनमा ठोक्किएको थियो। पछि हेलिकप्टर एउटा आवासीय भवननजिकै पुगेर खसेको थियो ।


Published :४ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media