काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री अधिकारीले आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
उनीहरूबीच समसामयिक राजनीति र गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रदेशमा मन्त्रीपरिषद् विस्तारमा सकस भइरहेका बेला मुख्यमन्त्री काठमाडौं आएका हुन् । मुख्यमन्त्री अधिकारीले प्रदेशमा १२ बाट पाँचवटा मन्त्रालय खारेज गरेर अब सात मन्त्रालय बनाएका छन् ।
त्यहाँ माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री नियुक्त भइसकेका छन् ।
अब गण्डकीमा तीन जना मात्र मन्त्री थपिनेछन् । यी तीन मन्त्रालयमा क-कसलाई मन्त्री बनाउने भन्ने सकस देखिएको छ । मुख्यमन्त्री अधिकारीले यिनै विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् ।