प्रेम प्रसादको आत्मदाहले उठाएका प्रश्न

हरिश काफ्ले/विचार

गएको मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरे । इलाम सुर्योदय-११ केराबारी स्थायी घर भएका ३६ वर्षीय आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।

नेपालमा यसअघि पनि छिटफुट आत्मदाहका घटना घटेका छन् । तर, संघीय संसद् भवनअगाडि प्रधानमन्त्रीको सवारीका बेला घटेको यो घटनाले धेरै प्रश्न उब्जाएको छ ।

प्रेमले देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै निराशा व्यक्त गरेको पाइन्छ । उनले आफ्ना निराशा मात्रै सार्वजनिक गरेका छैनन् राज्यमाथि र राज्यका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूमाथि प्रश्नसमेत गरेका छन् ।  आचार्यले उठाएका प्रश्नमा देशको वास्तविक अवस्था देखिन्छ ।

प्रेमले आफू निकै आर्थिक संकटमा परेकाले यस्तो कदम चाल्न बाध्य भएको उनले सार्वजनिक गरेको फेसबुक स्टाटसबाट बुझ्न गाह्रो छैन । धेरै हण्डर खाँदाखाँदै मन सम्हाल्न नसकेको, आर्थिक भार थाम्न नसकेर पटकपटक आत्महत्याको प्रयास गरेको उनले उल्लेख गरेका छन् । उनले आत्मदाह गर्नुअघि फेसबुकमा लेखेका छन्, ‘बाँच्ने सबै उपाय लाउँदा पनि केही भएन, आशा सबै मरिसकेको हुनाले मर्ने नै बाचा गरेँ । मलाई माफ गर्नुहोला । कोही मनकारी/सहृदयीजनहरू हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरी श्रीमतीलाई सहयोग गर्दिनुहोला । उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा दुई छोरीहरू टुहुरा हुनेछन् ।’ उनको यो स्टाटस पढेर जोकोहीको पनि मन विह्वल हुन्छ ।

ठूलै आर्थिक संकटमा परेको बताउने आचार्यले आफूले धेरैपटक विभिन्न व्यवसाय गर्न सुरुवात गरे पनि राज्य आतंकले घाटा मात्रै भएको बताएका छन् । सुरुमा ट्राभल एजेन्सी खोलेर विदेशी नागरिक र विभिन्न कलेजका विद्यार्थीहरूलाई ग्राहक बनाए पनि कहिले पैसा नदिने दिए पनि पूरा नदिने गरेको गुनासो गरेका छन् । ट्राभल एजेन्सी घाटामा गएपछि काठमाडौंमा भएको घर जग्गासमेत बेचेर आफू विदेश पलायन भएको उनले बताएका छन् ।

करिब तीन वर्ष कतारमा काम गरेपछि ऋण तिरेर स्वदेश फर्किएको आचार्यको भनाइ छ । कतारबाट फर्केपछि इलाममा सूर्योदय एग्रो इन्डस्ट्रिज एण्ड फार्म हाउस खोलेर व्यवसाय गर्दा व्यवसायी र राज्यबाटै ठगिएको गुनासो उनले गरेका छन् । प्रदेश नम्बर १ सरकारले दिने अनुदानका लागि पटकपटक आफूले आवेदन दिँदा पनि नपाएको बरु एउटै व्यक्ति (आफ्नै वडाको जनप्रतिनिधिले) पटकपटक पाएको गुनासो उनको सुसाइड नोटमा छ ।

उनले भनेका छन्, ‘प्रदेश नम्बर १ सरकारलाई चारपटक अनुदानका लागि निवेदन दिएँ । सर्टलिष्ट भए पनि कहिल्यै अनुदान पाइएन । अनुगमनमा आउनेले राम्रो गर्नुभएको छ । राम्रो छ भने तर कहिल्यै अनुदान पाइएन । बरु मेरै नजिक रहेको सूर्योदय-११ का तत्कालीन वडाध्यक्ष टेकबहादुर राईको डेरीले तीन लाख १० लाख गरी दुई वर्षमा लगातार अनुदान पायो । उनकै साङ्पाङ बंगुर फार्मले २५ लाख अनुदान पायो । साङ्ला टी स्टेटले एकै वर्षमा २०/२५ लाख अनुदान पायो ।

भाटभटेनी, बिगमार्ट लगायतका डिलर र मार्टहरूले पनि सामान उठाएर पैसा नदिएको विभिन्न बहानामा ठगेको उनले बताएका छन् । यति मात्रै होइन व्यवसायीहरूबाट पनि आफूले धोखा पाएको भन्दै उनीहरूको नाम नै उनले सार्वजनिक गरेका छन् । उनले डा. उपेन्द्र महतो, डा. समता प्रसादले नेपाल ग्रामो उद्योग कम्पनीलाई प्रकृति ब्राण्ड बनाएर घ्यु दिए पनि पैसा नदिएको गुनासो गर्नुभएको छ । सुरुमा राम्रोसँग काम भए पनि पछि धोका दिएको उनको सुसाइड नोटमा भनिएको छ । उनले भाटभटेनीका मीनबहादुर गुरुङको नाम पनि उल्लेख गरेका छन् । उनी फेसबुकमा लेख्छन्, ‘मलाई ३० प्रतिशत मार्जिन दिनुपर्ने त्यो पनि उधारोमा ! तीन महिनासम्म पैसा नदिने त्यसपछि पनि विभिन्न बहानामा दुःख दिने ।’ यस्तै, बिगमार्टले समेत पाँच/सात लाखको सामान अर्डर गर्दा एक डेढ लाख मात्रै दिने गरेको उनले गुनासो गरेका छन् ।

यस्तै, पवन गोल्यानको गोल्यान एग्रोले ११० कार्टुन घ्यु अर्डर गरेको तर तयार भएर दिँदा अर्डर क्यान्सिल गरेको गुनासो उनको छ ।

यसैगरी साथी मार्टका सागर पोखरेलले पनि सामान उठाएर पछि फिर्ता गरेको आचार्यले भनेका छन् । अनिल बस्नेतको मेट्रो तरकारी डट कम र नेप एक्सप्रेस युएई र डाबर नेपालले पनि आफूलाई अहिलेसम्म पैसा नदिएको उनले दुखेसो गरेका छन् ।

व्यवसाय मात्रै होइन केही परिवर्तनका आशामा राजनीतिमा समेत आफू सामेल भएको तर नेतृत्वबाटै धोका पाएको उनले उल्लेख गरेका छन् । रवीन्द्र मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाल, केशव दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भीमप्रसाद अधिकारी, निर्देश सिलवाल, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियारले महत्वाकांक्षी युवाको भावनासँग खेलबाड गरेको उनले आफ्नो भनाइमा आरोप लगाएका छन् । मिश्रलगायत नेताहरू विवेकशीलबाट राप्रपामा गएकोतर्फ संकेत गर्दै उनले भनेका छन्, ‘तपाईंहरू एकीकृत हुनै नसक्ने, पार्टी चलाउनै नसक्ने भए किन यो देशका मजस्ता सयौँ युवालाई राजनीतिमा लगाउनुभयो ? किन समय र पैसा बर्बाद गरिदिनुभयो ? यो देशमा सपना बाँड्ने, आश्वासन बाँड्ने अनि त्यसैलाई आफ्नो गरिखाने साधन बनाउनेको जमात ठूलो रहेछ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग पनि उनको गुनासो छ । उनले भनेका छन्, ‘प्रचण्ड तिमीले १७ हजार मार्ने गरी जनयुद्ध गर्‍यौ । देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्यायौ । संविधानसभामार्फत देशमा नयाँ संविधान जारी गर्‍यौ तर मजस्ता केही गर्छु भन्ने युवालाई देशमा केही गर्नै नसक्ने बनायौ । तिमीलाई थाहा छ ? यदि युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापानजस्ता देशहरूले सजिलै नेपालीलाई भिसा दिने भए यो देशमा कोही रहने छैन । तिम्रो देश खाली हुनेछ । अनि रित्तो देशको प्रधानमन्त्री बन्नु । र, ती १७ हजार शहीदलाई शासन गरेर बस्नु ।’

उनले रवि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकाश शर्मा, योगेश भट्टराई, तोसिमा कार्कीको नाम लिएरै र संसद्का नयाँ अनुहारलाई लक्षित गर्दै ‘सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, जनतालाई पिल्साएको मुद्दाहरू आँखा च्यातेर केलाउनुहोस्, समाधान गर्नुहोस् ।’ भन्दै याचनासमेत गरेका छन् ।

आचार्यले आफ्ना समस्या र पीडामात्रै व्यक्त गरेका छैनन् सरकारलाई समेत सुझाव दिएर मनन गर्न आग्रह गरेका छन् । उनले कर प्रणालीमा सुधारदेखि कक्षा ६ बाटै अनिवार्य उद्यमशीलताका लागि आग्रह गरेका छन् । राष्ट्रिय उत्पादनमा भ्याट शून्य गर्नुपर्ने माग राख्दै आयातित वस्तुमा २० प्रतिशत कर लगाउन आचार्यले आग्रह गरेका छन् । जसले गर्दा स्थानीय उत्पादनले बजार पाउने र नवउद्यमीहरूको विकासमा सहयोग पुग्ने उनको भनाइ रहेको छ ।

उनले बायर पे फष्र्ट नीति लागू गर्दै उधारो बजारको अन्त्य गर्न पनि आग्रह गरेका छन् । जसका कारण नयाँ र साना उद्यमीहरूलाई राहत पुग्ने उनको भनाइ छ ।

भाटभटेनी, बिगमार्ट, डाबर नेपाल जस्ता व्यापारिक घरानालाई डनको संज्ञा दिँदै उनले ती क्षेत्रलाई निमयन गर्न र स्थानीय उत्पादकलाई राहत दिन पनि आग्रह गरेका छन् ।

‘हायर द प्रोफट, लोअर द ट्याक्स रेट’ कर नीति लागू गर्न आग्रह गर्दै उनले ‘ल्याण्ड लिजिङ’ को पनि माग गरेका छन् । उनले भनेका छन्, ‘जग्गा जमिन पुस्तौँसम्म हस्तान्तरण गरिने हुँदा जनताहरू अल्छे भएका छन् । एक जमिनको स्वामित्व एक व्यक्तिलाई ५० वर्षसम्म मात्रै देऊ ।’

उत्पादनशील गाउँको जग्गा र अनुत्पादक सहरको जग्गाको वर्गीकरण र मानक एउटै हुनुपर्ने माग पनि उनले गरेका छन् । बैंकिङ मोर्टेज भ्यालुएसन प्रणाली परिवर्तन गर्न आग्रह गर्दै आचार्यले सहरका अनुपात्पादक जग्गाले जति नै भ्यालुएसन गाउँका उत्पादक जग्गाले पनि पाओस् भन्ने कामना गरेका छन् ।

यस्तै, सबै बहालका घरलाई करको दायरामा ल्याउन पनि उनले आग्रह गरेका छन् । १० हजार तलब खाने कर्मचारीले एक प्रतिशत टिडिएस तिर्नुपर्ने तर एक लाख बढी भाडा असुल गर्ने बहाल मालिकले शून्य कर भन्दै उनले प्रश्न गरेका छन् ।

बिगमार्ट, भाटभटेनी, पतञ्जली, डाबर नेपाल, युनिलिभर जस्ता ठूला व्यापारी घरानाले नेपालको बजार कब्जा गरेकोले नियमन गर्नुपर्ने, दर्ता नगरी खुलेका अनलाइन पसलहरू बन्द गर्नुपर्ने वा उनीहरूलाई पनि करको दायरामा ल्याउनुपर्ने उनले आफ्नो लामो सुसाइड नोटमा माग गरेका छन् । उनले वैदेशिक रोजगारमा अफिसियल भिसामा जान चाहनेलाई श्रम स्वीकृतिको लफडामा नपार्न पनि आग्रह गरेका छन् ।

यस्तै, अनुदान र सब्सिडी प्रणालीको सबै पुरानो फाइल निकालेर छानबिन गर्न आग्रह गर्दै उनले अनुदानका नाममा ठूलो रकम भ्रष्टाचार भएको जिकिर गरेका छन् । अलैँची, चिया लगायतका नेपाल ब्राण्डलाई नेपालमा नै बेच्न पाउने वातावरण सिर्जना गर्न पनि सरकारलाई उनले माग गरेका छन् ।

भ्रष्टाचार न्यूनीकरणका लागि सरकारी कर्मचारी, शिक्षकलाई घर पायक जागिर दिनुपर्ने नभए अनिवार्य आवास सुविधा उपलब्ध गराउनुपर्ने उनको माग छ । सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गर्दै कम कबोल गर्नेलाई नभई वैज्ञानिक र आधुनिक विकास अवधारणा लिएर आउनेलाई ठेक्का दिने प्रणालीको विकास गर्न उनको सुझाव छ ।

भ्रष्टाचार, जघन्य अपराध हत्या र बलात्कार जस्ता घटनामा अपराधीलाई मृत्युदण्डसम्मको सजायको व्यवस्था गर्न, जातीय आरक्षणको अन्त्य गरी किसान र गरिबलाई परिचयपत्र मार्फत मात्र आरक्षण प्रदान गर्नुपर्ने उनले आग्रह गरेका छन् ।

भारतसँगको खुला सिमाना अन्त्य गर्न आग्रह गर्दै उनले आयात प्रतिस्थापन गरी सधैँ घरेलु उत्पादन र निर्यातलाई प्रोत्साहन गर्न पनि उनको माग छ । बचत तथा ऋण सहकारी र माइक्रो फाइनान्सले देशको ६० प्रतिशत पैसा परिचालन गरिरहेको उल्लेख गर्दै उनले सहकारीको अवधारणा कृषि सरकारी, उद्योग सहकारीको अवस्थामा मात्रै लागू गर्न आग्रह गरेका छन् । विकास साझेदारीको नाममा फेरि पूर्वाधार विकास हुने उपभोक्ताबाट उठाउँदै आएको २५ प्रतिशत रकम उठाउन बन्द गर्न पनि उनले सुझाव दिएका छन् ।

यस्तै, कक्षा ६ बाट नै उद्यमशीलता विषयलाई अनिवार्य गर्नुपर्ने, सरकारी कर्मचारी/शिक्षक/संस्थानका कर्मचारी/जनप्रतिनिधि/सांसद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरीलाई अनिवार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर्न उनको आग्रह छ । त्यस्तै, बैंक ऋणको ब्याजदर ७५ भन्दा कहिल्यै माथि नउठ्ने गरी सीमित गर्नुपर्ने उनले माग गरेका छन् ।

प्रेम प्रसादका अभिव्यक्तिबाट के बुझ्न सकिन्छ भने यो देशमा गरिराख खोज्नेहरुलाई विभिन्न क्षेत्रमा लुट मच्‍चाएर बसेकाहरुले बाँच्न दिँदैनन् । कामको सिलसिलामा अनेक खालका हण्डर र ठक्कर खाएर मान्छे हत्तु हराम हुन्छ र मानसिक रोगी बनी मृत्युको बाटो रोज्न पुगेको हुन्छ । प्रेम प्रसादले सार्वजनिक गरेका व्यक्तिहरुकै कारण प्रेम प्रसादले आत्मदाह गरे । तिनीहरुलाई राज्यले कारबाही गर्नैपर्छ । अन्यथा अरु प्रेम प्रसादहरु नजन्मलान् भन्न सकिँदैन । हुन त प्रेम प्रसादले सुरक्षाको दृष्टिले देशकै उच्च मानिएको ठाउँमा आत्मदाह गरेर मात्र यो घटनाले छिटै बृहत् रुप लिन पुग्यो । यी र यस्ता र नदेखिएका घटना मुलुकभर छन् र तिनको खोजी गरी दोषीलाई  कारबाहीको दायरामा ल्याउन ढिलो गर्नुहुँदैन । फलाम तातेकै बेलामा दोषीहरुलाई कारबाही गरी प्रेम प्रसादहरुलाई न्याय दिन राज्य अगाडि बढ्नुपर्छ ।


Published :१४ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media