बेंसीसहर । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुने दाबी गरेका छन् ।
लमजुङको सुन्दरबजारमा सोमबार आयोजित तिलकराज पाण्डेको १८औं स्मृति दिवसलाई सम्बोधन गर्दै गुरुङले पहिलो आधा कार्यकाल माओवादी केन्द्र प्रधानमन्त्री र दोस्रो आधा कार्यकाल एमालेको सभामुख, दोस्रो आधा कार्यकाल एमालेको प्रधानमन्त्री र माओवादी केन्द्रका तर्फबाट सभामुख हुने र ५ वर्ष राष्ट्रपति एमालेकै हुने सहमति भएको बताए ।
उनले भने, `पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुन्छ ।’ दाहाल प्रधानमन्त्री हुनेबेला दुई अध्यक्षबीच राष्ट्रपति एमालेकै बनाउने सहमति भएको उनले बताए ।
उनले राष्ट्रियताको पक्षमा स्वाधीनताको पक्षमा लड्ने शक्ति फेरि सत्तामा आएको दाबी गरे । ‘नेपालको राजनीतिक उथलपुथल देखेर दिल्ली चकित पर्यो। वासिङ्टन चकित पर्यो । शेरबहादुर देउवा प्रधानमन्त्री हुने ठाउँमा कसरी प्रचण्ड प्रधानमन्त्री भए भनेर‚’ उनले भने, ‘त्यसपछि घेराबन्दी, अविश्वास र झगडा सुरु पार्न खोजिँदै छ। जाल फ्याँक्न खोजेको छ। कांग्रेसको प्रयास विफल हुन्छ ।’
उनले नेकपा एमाले कम्युनिस्टको मूल पार्टी भएको र एमालेको नीतिभन्दा अरुको फरक नभएकाले पनि एमालेसँगको मोर्चाबन्दीमा अघि बढ्नुको विकल्प नभएको बताए ।