सुदूरका मुख्यमन्त्रीले माघ २५ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री रावलले आज सभामुखलाई पत्र पठाउँदै माघ २५ गते विश्वासको मत लिनका लागि संसद बैठक बोलाई दिन आग्रह गरेका छन् ।

नेकपा एमाले संसदीय दलका नेता रावललले पुसको २७ गते नेकपा एमालेका १० सांसद, माओवादी केन्द्रका ११ सांसद, नागरिक उन्मुक्ति पार्टीका ७ सांसद र राप्रपाका एक जना गरी २९ सांसदको बहुमत पेस गर्दै शपथ लिएका थिए ।

नागरिक उन्मुक्ति पार्टीका कारण मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यमा ढिलाइ भएको हो । उन्मुक्तिले जेलमा रहेका पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाईको माग गर्दै आएको छ ।

माघ १७ गतेको पेसीमा पनि रेशम चौधरीको मुद्धामा बहस नभएको भन्दै उन्मुक्ति रिसाएको थियो । तर आइतबार रेशम चौधरीको मुद्दाको सुनवाइ भएपछि उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत दिने भएको हो ।

विश्वासको मत लिन नसकेकै कारण अहिलेसम्म प्रदेश सरकार विस्तार हुन सकेको छैन । मुख्यमन्त्रीले शपथ खाएका दिन नियुक्त भएका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोष थापा शर्माले पनि शपथ लिएका थिए  । उनीहरूको मन्त्रालय तोकिएको छैन । मुख्यमन्त्रीले विश्वासको मत पाएपछि प्रदेश सरकार विस्तार हुनेछ ।


Published :माघ २३, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media