टर्की भूकम्पः मृतकको संख्या २८ हजार बढी, लाखौँ विस्थापित

काठमाडौं । टर्कीए र सिरियामा गत सोमबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ भने हजारौँ घाइते र लाखौ विस्थापित भएका छन् ।
टर्कीएमा मात्रै २४ हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५ जनाले ज्यान गुमाएको मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । ती अधिकारीका अनुसार करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको उनले बताएका छन् ।
टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ ।
उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् ।
भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको निधन भएको छ ।
भूकम्प गएको १२९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ । भूकम्प प्रभावित नुरुदाग सहरमा उक्त चमत्कार भएको हो ।
पाँच जनाको जीवन जोगाउन पाएकामा उद्धारकर्मीले खुशी हुँदै भगवानको प्रार्थना गर्दै ‘ईश्वर महान् हुनुहुन्छ’ भनेका थिए ।
कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन् । आज नौ जनालाई जीवितै उद्धार गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख सिरियाको एलोप्पो पुगेर सिरियाली स्वास्थ्यमन्त्रीका साथ त्यहाँका अस्पतालको निरीक्षण गरेका छन् । (एजेन्सी)


Published :२९ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media