युद्धविरामको १२ दिनमा हमासद्वारा १५ बन्धक रिहा

काठमाडौँ । इजराइल र हमासबीच युद्धविरामको १२ दिनमा गाजाबाट १५ बन्धक रिहा भएका छन्।

बिहीबार बेलुकी हमासले एकैदिन ८ जनालाई बन्धकमुक्त गरेको थियो। योसँगै हमासको बन्धकबाट मुक्त हुनेको संख्या १५ पुगेको छ।

यसअघि माघ ६ गते युद्धविराम घोषणा हुँदा तीन महिला बन्धक छाडेको थियो। त्यसको एक सातापछि चार जनालाई बन्धकमुक्त गरेको थियो।

बिहीबार बन्धकमुक्त हुनेहरूमा तीन जना इसराइली र पाँच जना थाइल्याण्डका नागरिक छन्।

तीन इसराइलीहरूमा २० वर्षीया अगाम बर्गर, २० वर्षीया अर्बेल यहुद र ८० वर्षीय गडि मोस मोजेस् छन्। अगाम इसराइली सेना हुन्।

बन्धकमुक्त हुने पाँच थाइ नागरिकहरूको नाम सार्वजनिक भएको छैन।

यो साता दुई पटक हमासले बन्धक छाड्नेछ। उसले शनिबार पनि बन्धकहरू रिहा  गर्ने बताइएको छ।  हमासले बन्धक रिहा गर्दा इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई कैदमुक्त गर्नेछ।

४२ दिनको युद्धविराममा ३३ जना बन्धकमुक्त हुनेछन् भने २ हजार भन्दा बढी प्यालेस्टिनीहरूक कैदमुक्त हुनेछन्।

नेपालका विपिन जोशी पनि हमासको बन्धकमा छन्।

पहिलो चरणको युद्धविराममा इसराइलका नागरिकहरू छाड्ने सम्झौता भएपनि बिहीबार थाइल्याण्डका बन्धकहरू पनि छाडिएपछि विपिन रिहा हुने सम्भावना पनि बढेको छ।

इजराइली मिडिया रिपोर्टहरूले विपिन जोशी जिवितै रहेको खुलाएका थिए। (रासस)


Published :१८ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media