बुढानिलकण्ठ । यस्तो कहिँ कहिल्यै नहोस् तर यदि कतै युद्ध भड्कियो भने र आणविक अस्त्रको प्रयोग भैहाल्यो भने बिशेषत सन्सारका शहरहरु नै पहिलो निशानामा पर्नेछन्, परिणामतः पल भरमै लाखौंको जिउ ज्यान जानेछ, खरबौंको भौतिक संरचना ध्वस्त हुनेछ र पृथ्वीका समस्त जीवले स्वास लिने यो वायु र बातावरण कालान्तरसम्म बिषाक्त बन्नेछ । विश्वको आकासमा मडारिइरहेको मानवता माथीको यो खतरालाइ न्युनिकरण गर्न संयुक्त राष्ट्रसंघ, राष्टहरु तथा सम्बद्ध संघसंस्थाहरु प्रयासरत छन् । शहरहरुलाइ पहिलो प्राथमिकतामा राखेर नै आणविक अस्त्र शस्त्रको खतरा र असरबाट शहर र शहरबासीलाइ बचाउ भन्ने आवाज विश्वमा उठिरहेको छ ।
आफ्नो शहर र शहरबासीको जिउज्यानको रक्षा खातिर सम्बन्धित स्थानिय सरकार र निकायहरु चनाखो बन्नुपर्छ, शान्ति र अहिंसा प्रति प्रतिबद्ध हुनुपर्छ र विश्व शान्तिका यावत अभियानहरुमा एक्यबद्धता जनाउनुपर्दछ । यहि भावनालाइ मुखरित गर्दै २ अक्टोबर २०२४ देखि ५ जनवरी २०२५ सम्म शान्ति र अहिंसाका निम्ति विश्वयात्रा अभियान सन्चालन गरिएको थियो ।
सो अभियानका अभियन्ताहरु अक्टोबर २१ मा नेपाल आइपुगेका थिए र चार दिन सम्म यहाँ रहँदा विविध कार्यक्रमहरु गरिएका थिए । सो क्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर श्री मिठाराम अधिकारी र बिश्वयात्रा अभियानका अभियन्ता श्री राफेल डे ला रुबियाका बिच विश्व शान्ति अभियानका कार्यक्रमहरुमा बुढानिलकण्ठ नगरपालिकाको एक्यबद्धता रहने र यस्ता कार्यक्रमहरुमा सहभागीता जनाउने सम्झौता भएको थियो । साथै सन् २०१७ मा संयुक्त राष्ट्रसंघले पास गरेको आणविक अस्त्र शस्त्र निषेध गर्ने संझौता Treaty on the Prohibition of Nuclear Weapons(TPNW) नेपाल सरकार र संसदले अनुमोदन गराउन प्रयास गर्ने एमओयुमा समेत हस्ताक्षर गरिएको थियो । सो कार्यक्रमको सम्पूर्ण संयोजन बुढानिलकण्ठ नगरपालिका, पर्यटन बोर्डले गरेको थियो ।
संयुक्त राष्ट्रसंघमा पारित भएको सो प्रस्तावमा नेपालले हस्ताक्षर गरेर पनि हालसम्म संसदबाट अनुमोदन नहुँदा त्यसले आधिकारिकता पाएको छैन ।
नगरपालिकाको सो प्रतिबद्धता र संझौतामा हस्ताक्षरको परिणाम स्वरुप इन्टरनेशनल क्याम्पेन टु एबोलिश न्युक्लियर विपन्स् ICAN को सूचिमा समावेश हुने नेपालको पहिलो नगरपालिका बुढानिलकण्ठ हुन पुगेको बुढानिलकण्ठ नगरपालिका, पर्यटन बोर्डका संयोजक अर्जुन पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार शान्तिकामी अन्तराष्ट्रिय संघसंस्थाहरुबाट मेयर मीठाराम अधिकारी र नगरपालिकालाइ बधाइ सन्देशहरु आइरहेका छन् ।