चैत ६ गते विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपाटी न्युज

चैत्र १, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै संघीय संसद् सचिवालयलाई पत्र पठाएका हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बिहीबार पत्र पठाएका हुन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिनू भन्दै पत्र पठाउनुभएको छ,’ प्रवक्ता गिरीले भने ।

प्रधानमन्त्री दाहालले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा कांग्रेससँग गठबन्धन गरेका दाहालले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत रहेका छन् ।


Published :चैत्र १, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media