प्रतिनिधिसभा बैठकः सत्य निरुपण र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक पेश हुँदै

काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पेश गरिने भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सरकारले गएको फागुन २५ गते उक्त विधेयकलाई संघीय संसद सचिवालयमा दर्ता गरेको थियो ।
शनिबार बसेको सत्ता साझेदार १० वटा दलको बैठकले विधेयक संसद्‌मा पेस गर्ने निर्णय गरेको थियो । यो विधेयक संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक हो।
यसैगरी, बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।
त्यस्तै बैठकमा प्रेम सुवालले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन् ।
यसैगरी सभामुखले बैठकमा नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउने सम्भावित कार्य सूचिमा रहेको छ ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेसमेत बैठकको सम्भावित कार्यसूची छ ।


Published :५ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media