काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध १० दलको बैठक आज बस्दैछ। सोमबार माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच छलफलपश्चात आज ४ बजे बैठक बोलाइएको हो ।
गठबन्धनमा आबद्ध दलहरुबीच मन्त्रालयको विषयमा भागबण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ। सोमबार पनि तीन शीर्ष नेताले आ-आफ्नो अडान नछाडेपछि सहमति जुट्न नसकेको हो।
आजको सत्ता गठबन्धनको बैठकमा छलफल गरी मन्त्रालयको बाँडफाँड टुंगो लगाइने बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई विस्तार गर्न निरन्तर छलफल गर्दै आए पनि दलहरुबीच आन्तरिक सहमति नहुँदा मूर्तरुप लिन नसकेको माओवादी केन्द्रका एक पदाधिकारीले बताए ।
प्रचण्ड प्रधानमन्त्री भएको तीन महिना भयो। तर, अझै पनि सरकार पूर्ण भएको छैन। १६ मन्त्रालय प्रधानमन्त्रीकै काँधमा छ। गृह, अर्थ, परराष्ट्रजस्ता अति महत्त्वपूर्ण मन्त्रालय पनि लामो समयदेखि मन्त्रीविहीन छन् ।