लुम्बिनीका मुख्यमन्त्री गिरीले तत्काल सरकार नछाड्ने

राष्ट्रपाटी न्युज

२० चैत्र २०७९

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले तत्काल सरकार नछाड्ने बताएका छन् ।

गिरीले संविधानको १६८ (२) बमोजिम ५३ जनाको सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश भए पनि अल्पमत प्रमाणित भएमात्रै सरकार छाड्ने बताएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ‘तुलसी ट्रेड टावर’ शिलान्यासपछि पत्रकारले सोधेको प्रश्नमा मुख्यमन्त्री गिरीले आफ्ना बिरुद्ध प्रदेशसभामा अल्पमत प्रमाणित भइनसकेकोले अहिले नै सरकार नछाड्ने बताए ।

नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री गिरीले प्रदेशसभामा अल्पमतमा परेको कुरा परीक्षण हुन बाँकी रहेको भन्दै प्रमाणित भएको दिन एक मिनेट पनि सरकारमा नबस्ने बताए । ‘अल्पमत भन्ने कुरा प्रमाणित भइसकेको छैन,’ उनले भने ‘प्रमाणित भइसकेपछि हामी एक मिनेट पनि सत्तामा रहने छैनौं ।’

मुख्यमन्त्री गिरीले आफू अल्पमतमा परेको प्रमाणित भइसकेपछि पनि धारा १६८ (३) अनुसार त्यसपछि नयाँ सरकार गठन हुनुपर्छ भन्ने आफूहरुको दाबी रहने बताए ।

‘प्रदेश प्रमुख अमिक शेरचन कसरी अगाडि बढ्नुहुन्छ त्यो अलग कुरा हो,’ उनले भने ‘ तर, हाम्रो माग त्यसपछिको नयाँ सरकार धारा ३ अनुरुप गठन हुनुपर्छ भन्ने रहन्छ ।’

केन्द्रमा बनेको नयाँ सत्ता समिकरण अनुसार चैत १२ गते नै पुस २७ मा गिरी मुख्यमन्त्री बन्दा समर्थन गरेका नेकपा माओबादी केन्द्रसहितका साना दलहरुले समर्थन फिर्ता लिइसकेको हुँदा गिरी अल्पमतमा परिसकेका छन् ।

चैत १२ गते नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानको १६८ (२) बमोजिम ५३ जनाको सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गरिसकेका छन् ।

तर, संविधानको ब्यबस्था र प्रक्रिया अनुसार अबको ३० दिन भित्र मुख्यमन्त्री गिरीले विश्वासको मत लिनुपर्ने छ । त्यतिखेर बिश्वासको मत पाउन नसके नयाँ बर्षको बैशाख १० गतेसम्म उनी नेतृत्वको सरकार बर्खास्त हुनेछ ।


Published :२० चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media