सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रको जित, संकटा २–१ ले पराजित

राष्ट्रपाटी न्युज

चैत्र २५, २०७९

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आइतबार साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई २–१ गोलको नतिजामा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हाबी बनेको मछिन्द्रले रोमाञ्चक जित दर्ता गर्‍यो ।

एन्द्रेन नियाले १४औं मिनेटमा मैदानको बीचभागबाट फालेको थ्रु बलमा मछिन्द्रका भुटानी फरवार्ड छेन्चो ग्याल्चेनलाई भेट्टाउन सकेनन्। त्यसको दुई मिनेट नबित्दै विमल घर्ती मगरको लामो प्रहार फ्रेममा परेको थिएन।

सुरुवाती २० मिनेटसम्म निरन्तर आक्रमण गरेको मछिन्द्रका लागि २०औं मिनेटमा विमलले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसको एक मिनेट नबित्दै संकटाका लागि मनीषले बराबरी गोल फर्काए ।

पहिलो हाफ सकिन लाग्दा पुनः मछिन्द्रले संकटामाथि निरन्तर दबाब बनायो । दोस्रो हाफको पहिलो मिनेटमै ओलावाले आफिजले गोल गर्दै मछिन्द्रलाई पुनः अग्रता दिलाएका थिए ।

जितसँगै मछिन्द्र सात खेलबाट ९ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट ९ अंक जोडेको आठौं स्थानमा छ । ६ खेलबाट १४ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब लिग तालिकाको शीर्ष स्थानमा छ। सात खेलबाट १४ अंक जोडेको जावलाखेल दोस्रो स्थानमा छ ।

खेलमा तीन अंक लिने लक्ष्यसहित मैदानमा उत्रिए पनि पराजय भोग्नु परेको संकटाका मुख्य प्रशिक्षक सल्यान खड्गीले बताए ।

खेलको इन्जुरी समयमा पुजन उपरकोटीसँग ठोकिएर मछिन्द्रकै छिरिङ गुरुङ बेहोस भएका थिए । उनलाई मैदानमै कार्डियोपल्मोनरी रेससिटेसन (सीपीआर) दिएर थप उपचारका लागि अस्पताल लानु परेको थियो।

उनी ढल्ने बित्तिकै नजिकको टच लाइनबाट दौडिएर छिरिङलाई मुख बन्द गर्न नदिन संकटाका प्रशिक्षकले महत्त्वपूर्ण भूमिका निर्बाह गरेका थिए ।

यस्तै, मछिन्द्रका नवनियुक्त प्रशिक्षक किशोर केसीले प्रतिस्पर्धात्मक खेलमा आफ्नो टिमले बाजी मारेको सुनाए। निवर्तमान प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमका सहायक प्रशिक्षक नियुक्त भएपछि मछिन्द्र नेतृत्वविहीन थियो। तर, मछिन्द्रले आजै केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।

एनआरटीको उत्कृष्ट पुनरागमन

आजै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलको नतिजामा पराजित गरेको छ ।

खामिर गिल्सनले १४औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा ०–१ ले पछिपरेको एनआरटीका लागि रोहन खड्गीले ६७औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

एनआरटीका लागि सब्स्टिच्युट खेलाडी जेनिश प्रजापतीले निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा निर्णायक गोल गरे। उनको त्यो गोलसँगै एनआरटीले पहिलो जित निकालेको छ ।

जितसँगै सात खेलबाट ६ अंक जोडेको एनआरटी ११औं स्थानमा पुगेको छ। समान खेलबाट शेर्पा १२औं स्थानमा झरेको छ ।


Published :चैत्र २५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media