काठमाडौं महानगरले जथाभावी फोहोर फाल्नेलाई ५ हजारसम्म जरिवाना गर्ने

राष्ट्रपाटी न्युज

चैत्र २९, २०७९

काठमाडौं । सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ ।

हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप १५ हजार रुपैयाँ असुलेको छ। बिहीबार राति वडा नं. १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो।

जरिवाना असुल गरी उक्त गाडीलाई फोहोर जथाभावी नफाल्ने शर्तमा रिहा गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। दुई हप्ताअघि पनि कामपाले तोकिएको स्थान भन्दा अन्यत्र फोहोर फाल्नेबाट कारबाहीस्वरूप १२ हजार रुपैयाँ जरिवाना असुल गरेको थियो।

वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहोर व्यवस्थापन गर्नका लागि कामपाको फोहोर संकलन गर्ने गाडी आउने गर्छ। कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ।

फोहोरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान ‘माइकिङ’ गर्ने गरेको छ। ‘नागरिकले सडकमा यत्रतत्र फोहोर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई ५०० सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवानासमेत तिराउने गरेको छ, प्रमुख श्रेष्ठले भने।

कामपाले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ। पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ। कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ।

उपत्यकाको १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनका लागि हरेक दिन २०० गाडी फोहोर बोकेर बञ्चरेडाँडा जाने गर्छन्। पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेकाले दुर्घटनाको खतरा बढाएको भन्दै कामपाले अनधिकृत फोहोर उत्पादन गरेर शहरी व्यवस्थापनलाई बाधा नगर्न आग्रह गरेको छ ।


Published :चैत्र २९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media