काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वाभाविक वैदेशिक उपचार यात्रा भएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चिकित्सकले रिफर नगर्दासमेत जहाज चार्टड गरी विदेश लैजानु अस्वाभाविक भएको बताए ।
उनले विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैरजिम्मेवारीपन भएको बताए । उनले श्रोतमा हात हाल्न पाउनेबित्तिकै सरकार व्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले यस्ता नकारात्मकतालाई रोक्न राप्रपा बलियो बन्नुपर्ने बताए ।
अध्यक्ष लिङदेनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएको कारण पनि राम्रो मत आउन नसकेको स्पष्ट गरे । उनले जनता विकल्पको तयारीमा रहेको स्पष्ट भएको बताए ।