गणेश नेपाली मृत्यु प्रकरणः राष्ट्रियसभामा प्रधानमन्त्री शाहको राजीनामा माग

राष्ट्रपाटी न्युज

असार २६, २०८३

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर राष्ट्रियसभामा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरिएको छ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले गणेश नेपालीको घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै प्रधानमन्त्री शाहले पदमा बसिरहन नमिल्ने बताए।

उनले गणेश नेपालीको मृत्यु सरकारको असंवेदनशील र क्रूर व्यवहारको परिणाम भएको आरोप लगाए।

‘बालेन सरकारको क्रूरताका कारण हिजो मुगु निवासी गणेश नेपाली आगोमा जल्नुपर्‍यो। आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्‍याइयो। यस्तो क्रूर सरकारले कुर्सीमा टाँसिरहनु उचित हो कि होइनरु यदि नैतिकता छ भने बालेन सरकारले तत्काल राजीनामा दिएर सडकमा आउनुपर्छ,’ विश्वकर्माले भने।

विश्वकर्माले घटनास्थलमा रहेका सुरक्षाकर्मी र नगर प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाए। जलिरहेको व्यक्तिलाई उद्धार गर्ने क्रममा उचित मानवीय व्यवहार नगरी अपराधीझैँ घिसारेर अस्पताल लगिएको भन्दै उनले आपत्ति जनाए।

‘त्यहाँ रहेका प्रहरी आगोमा जलिरहेको व्यक्तिलाई बचाउनभन्दा पछि हटे। अन्ततः उनलाई अपराधीझैँ घिसारेर अस्पताल लगियो। घटनामा संलग्न ट्राफिक प्रहरी, नगर प्रहरी र उद्धारमा संलग्न प्रहरीमाथि कडा कारबाही हुनुपर्छ,’ उनले माग गरे।

सांसद विश्वकर्माले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा सरकारले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने धारणा पनि राखे।

संसद्सँगै सडकमा पनि प्रधानमन्त्री शाहविरुद्ध प्रदर्शन भएको छ । शुक्रबार माइतीघरमा भेला भएका युवाहरुले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गरेका छन् । राज्य संयन्त्र गरिब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाउँदै उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद् घटनाहरू दोहोरिएको बताका छन् । ्

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।


Published :असार २६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media