काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको अपराधिक क्रियाकलापलाई गम्भीररूपमा लिन सरकारको ध्यानाकर्षण गराएको छ ।
कोशी प्रदेशको यात्रामा रहेका अध्यक्ष ओलीमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताउँदै एमालेले देशमा शान्ति सुरक्षा कायम गर्न आग्रह गरेको छ ।
एमाले उपमहासचिव विष्णु रिमालले अध्यक्ष ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने बताए । उनले सत्तारुढ दलले नै आतंक सिर्जना गर्न खोजेको भन्दै यसबारे जवाफ दिन माग गरे ।
उनले प्रचण्ड नेतृत्वको सरकारले देशमा कसरी आतंक सिर्जना गर्न सकिन्छ भन्दै रिहर्सल सुरु गरेको दाबी गरे ।
उनले कोशी प्रदेश एमाले एक्लैले राखेको नाम नभएको स्पष्ट पारे। त्यसमा बहुमत सदस्यको समर्थन हस्ताक्षर भएको उनको भनाइ थियो । उनले एमालेले आफ्नो नेता कार्यकर्ताको लागि आफैं सुरक्षाका लागि उत्रिन नपरोस् भन्दै चेतावनी दिए ।
त्यस्तै एमालेका सचिव योगेश भट्टराईले एमाले तीन करोड जनताको सुरक्षा गर्न तयार रहेको बताए । एमालेमाथि यस्तै खाले गतिविधि भइरहे प्रचण्ड र गृहमन्त्रीको बाटो हेरेर नबस्ने स्पष्ट पारे ।
उनले कोशी प्रदेशमा एमालेलाई नजिस्काउन पनि आग्रह गरे । उनले कुनै बेला एमालेलाई मधेस प्रदेशबाट पनि लखेट्न खोजेको भन्दै एमाले भाग्ने पार्टी नभएको बताए ।