नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

राष्ट्रपाटी न्युज

बैशाख २९, २०८०

सिन्धुली । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्रिय गिरोह र तिनका संरक्षकविरुद्ध सिन्धुलीमा शनिबार पनि प्रदर्शन भएको छ ।

जिल्लाका अगुवा नागरिकहरूको उपस्थितिमा सिन्धुलीमाढीमा बिहानैदेखि प्रदर्शन गरिएको हो । ‘भ्रष्टाचारीको जालो,  अति नै गर्न थाल्यो’,‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिष्टम भ्रष्ट छ’जस्ता नारा लेखिएका प्लेकार्डसहित नागरिकहरू प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले नक्कली भुटानी प्रकरणसहित भ्रष्टाचारका अन्य कसुरसहित राज्यविरुद्धको अपराधमा संलग्नलाई कानुनी दायरमा ल्याउन माग समेत गरेका छन् । सरकारले साना माछालाई नियन्त्रणमा लिएर ठूला माछालाई उन्मुक्ति नदियोस् भन्नका लागि आफूहरू स्वत : सडकमा आएको प्रदर्शनमा सहभागी नवराज आरणले बताए ।

सार्वभौम देशका नागरिकलाई अनागरिक बनाउने तथा नेपालको अन्तर्राष्ट्रिय छवि र स्वाभिमानमा आँच पुग्ने गरी रचिएको अपराधमा पूर्व गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकारको संलग्नता खुलेसँगै ‘राज्यविरुद्धको कसुर’ मा समेत मुद्दा चलाउने गरी अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्ने अर्का सहभागी सलिन कुमार खड्काको भनाई छ ।


Published :बैशाख २९, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media