मधेश सरकार विस्तार, तीन मन्त्रीले लिए शपथ

राष्ट्रपाटी न्युज

जेष्ठ ९, २०८०

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ ।

नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहित सरकार विस्तार गरिएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सरकारमा नयाँ जिम्मेवारीसहित सहभागी भए ।

कांग्रेसका यादव भौतिक पूर्वाधार तथा विकास, सिंह स्वास्थ्य तथा जनसङ्ख्या र समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आज मधेश भवनमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष तीनै जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए ।

केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै गत चैत २१ गते नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिएको थियो । मधेस–प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँचजनाले मुख्यमन्त्री यादवसमक्ष सामूहिक राजीनामा दिएका थिए । एक मन्त्री पाउने सहमति भए पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएको छैन ।


Published :जेष्ठ ९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media