काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले यो प्रकरणमा सबै राजनीतिक दलका नेता मुछिएकाले छानबिनका लागि संसदीय विशेष समिति बनाउनुपर्ने बताएका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुट्टा नकमाउने बताएको भए पनि अहिले नाम मुछिएकाहरूसँग सोधपुछ गर्न समेत डराएको आरोप लगाए ।
भ्रष्टाचारका विषयलाई लिएर आफूहरूले बारम्बार कुरा उठाइरहेको भन्दै उनले तीन राजनीतिक दलहरुबीच भएको छलफलमा आशंका व्यक्त गरे ।
उनले यो प्रकरणमा अडियो दिएकाहरूलाई समेत सोधपुछका लागि नबोलाएको भन्दै आक्रोश व्यक्त गरे ।