कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटनाहरु भइरहेको ओलीको दाबी

राष्ट्रपाटी न्युज

२५ जेष्ठ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई उक्साएर एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए । उनले कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटनाहरु भइरहेको दाबी गरे ।

उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने बताए । उनले एमालेले पहिचानका नाममा भइरहेका आपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताए ।

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैल्याउने कोशिस गरे पनि सफल नबनेको बताए । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैँ सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताए ।


Published :२५ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media