काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गरेका छन् । उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए ।
उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन् । साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ । यद्यपि नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ ।
सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् । सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्ट देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आमनागरिकमा शंका उत्पन्न भएको छ ।
अध्यक्ष नेपालले भारतीय नयाँ संसद भवनमा अखण्ड भारतको नक्शा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए । उनले कम्युनिष्ट नेता प्रधानमन्त्री पुष्पकमल दाहाल पशुपति जानुभयो नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कोही आस्थाले र कोही चर्चा कमाउनको लागि मन्दिर जाने गरेको बताए ।
शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालसहितको मन्त्रीमण्डल पशुपतिनाथ दर्शनका लागि पुगेको थियो ।