प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ भोलि बिहान ८ बजे

राष्ट्रपाटी न्युज

३१ जेष्ठ २०८०

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ भोलि हुने भएको छ।  बुधबार बसेको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान ८ बजे कार्कीलाई बोलाउने निर्णय गरेको हो ।

आज उजुरीकर्ताहरूसँग छलफलपछि भोलि कार्कीलाई बोलाउने निर्णय भएको समितिका सदस्य ज्ञानेन्द्र कार्कीले जानकारी दिए । बुधबार बिहानको बैठकमा समितिले २३ जना उजुरीकर्तालाई छलफलका लागि बोलाइएको थियो ।

सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका थिए । बैठकमा उजुरीकर्ताहरूले प्रधानन्यायाधीशमा कार्कीको सिफारिसको निर्णय र संसदीय सुनुवाइको वैधानिकतामा प्रश्न उठाएका थिए । उजुरीकर्ताहरूले सामूहिक छलफल हुनुपर्ने आवाज उठाएपछि केही समय समितिको बैठक प्रभावित बनेको थियो ।


Published :३१ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media