काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग गरेका छन् ।
देश र जनताको हितका लागि सांसदहरूले सुझाव दिने भएकाले सोही अनुसार बजेट परिमार्जन गर्न सरकार र सत्तारुढ दलहरू तयार हुनुपर्ने उनको तर्क थियो ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले संसदमा बजेटबारे हुने छलफलको औचित्य पुष्टि गर्न पनि त्यहाँ सांसदहरूले दिएको सुझाव अनुसार बजेट परिमार्जन गर्नुपर्ने बताए ।
सांसद सुवालले बजेटमा कमा र फुलिष्टव पनि परिवर्तन हुन्न भन्ने मान्यतालाई गलत साबित गर्न पनि सरकारले त्यसलाई परिमार्जन गरेर अघि बढाउनुपर्ने आवश्यक रहेको बताए ।