७० वर्षे उमेरहद उपयोगी नभएकाले हटाउने निर्णय गरेको होः केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले पनि सत्तरी वर्षको उमेरहद हटाउने निर्णय गरेको बताएका छन्  ।

७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको ओलीको स्पष्टिकरण थियो ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए ।

उनले केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप समेत लगाए । अध्यक्ष ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ ? भनी प्रश्न समेत गरे ।

काम गर्न सक्छन भने ७० वर्ष कटेकाहरुलाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीको तर्क थियो । उनले काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको पनि पटक-पटक दोहोर्‍याए ।

ओलीले २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी वडावडामा गएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । सिद्धिसकेका तत्वहरुले समाजवादी मोर्चा बनाउने प्रयास गरेकाले त्यसमा आत्तिनुपर्ने कुनै कारण नरहेको पनि उनले बताए ।

अध्यक्ष ओलीले देशविरोधी शक्तिहरु एमालेको विरुद्धमा लागिपरेको आरोप समेत लगाए ।


Published :असार १, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media