अख्तियारद्वारा सिँचाइका तत्कालीन महानिर्देशक राजभण्डारीविरुद्ध मुद्दा दायर

काठमाडौं । तीन करोड ५६ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

राजभण्डारी सार्वजनिक सेवामा प्रवेश गरेको ३० फागुन ०५१ देखि ३१ भदौ ०७९ सम्मको आम्दानी र खर्चको अख्तियारले विश्लेषण गरेको थियो ।

उक्त अवधिमा राजभण्डारीको वैधानिक आय तीन करोड ८५ लाख ५१ हजार सात सय ४१ रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ । सोही अवधिमा  राजभण्डारीको आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैयाँको वैधानिक स्रोत पुष्टि हुन नसकेको आरोपपत्रमा उल्लेख छ।

स्रोत नखुलेको सम्पत्ति गैरकानुनी रूपमा आर्जित भएको दाबी गर्दै अख्तियारले त्यसैलाई बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो ।

स्रोत नखुलेको गैरकानुनी सम्पत्ति पत्नी दीपा श्रेष्ठको नाममा जग्गा, घर निर्माण, कम्पनी लगानी, बिमा प्रिमियम भुक्तानीलगायतमा लगानी गरेको भेटिएपछि बिगो जफत प्रयोजनका लागि श्रेष्ठलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।


Published :असार ३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media