काठमाडौं । आजदेखि देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्दै जाने देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि मौसम बदली र वर्षा क्रमशः बढ्दै जाने संकेत देखिएको छ ।
महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ । जसका कारण देशभर बदली र वर्षाको सम्भावना बढेको हो ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने राति भारी वर्षा पनि हुनसक्ने छ ।
कोशी र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।