काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताएका छन् ।
बिहीवार पार्टी केन्द्रिय काार्यलय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विगतका कमी कमजोरीहरुलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताए ।
उनले आदिवासी, मधेसी मुद्दाहरु सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताए । उनले समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचारहरु आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाती, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको बताए ।
अध्यक्ष यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरुसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा बजेट पारित नहुने बताए । उनले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै बजेट संसदबाट पास हुने बताए । उनले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको बताए । उनले बजेट सच्याएर अघि बढ्ने सहमति भएको बताए ।