व्यक्तिलाई जिल्ला प्रवेशमा रोक लगाउने कुरा सह्य हुँदैनः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छन् ।

शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताइन् ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीवार गृह जिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो । सोही विषयमा मन्त्री शर्माले सरकारले अराजक गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने बताइन् । उनले कोशी प्रदेशको नामका बारेमा भइरहेको आन्दोलनलाई प्रदेश सांसद र मुख्यमन्त्रीसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताइन् । उनले केन्द्र सरकारले पनि यसमा सहयोग गर्ने बताउँदै उनले नयाँ बन्ने प्रदेश सरकारले यसको निकास दिने बताइन् ।

मन्त्री शर्माले ठूला वा साना भन्दा पनि सरकारले अनियमितता गर्ने व्यक्तिलाई नछोड्ने बताइन् । उनले भ्रष्टाचारका घटनामा प्रमाण पुगेपछि घटनामा संलग्न दोषी नउम्किने बताइन् ।


Published :१५ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media