भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

असार १६, २०८०

काठमाडौं । भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ ।

दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो ।

गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो ।

केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएका छन् । मृतकको पहिचान भइनसकेको जनाइएको छ । दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो ।

यसैबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँच-पाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् । (एजेन्सी)


Published :असार १६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media