काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेसहितका विपक्षी दलले राजीनामा माग्दै संसद अवरोध गर्न लागेपछि सत्ता पक्षले सोमबार पुन: प्रमुख प्रतिपक्ष दल एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाएको हो ।
सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भइरहेको छ । संसदको गतिरोध अन्त्य गर्न र एमालेले संसदमा उठाएका मागको सन्दर्भमा छलफल गर्न शीर्ष नेता जुटेका हुन्
आज पनि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बोलाइएको बैठक अवरोध गर्ने तयारी गरेको छ । एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनले संसदमा फेस गर्ने निर्णय गरेका छन् ।
एमालेले भ्रष्टाचारका ठूल्ठूला घटनालाई सरकारले अघि बढाएका कारण विपक्षीले संसद् अवरोध गरेको भन्ने विज्ञप्तिको भाषालाई लिएर संसद्मा स्पष्ट पार्नुपर्ने प्रचण्डसँग माग गर्दै आएको छ । आइतबार पनि प्रचण्डसँग ओलीले सचिवालयको विज्ञप्तिबारे पनि स्पष्ट नभई संसद् अवरोध खुल्न नसक्ने ‘चेतावनी’ दिएका थिए । दाहालले एमालेको चेतावनीपछि सभामुख देवराज घिमिरेलाई फोन गरी प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित गरिदिन आग्रह गरेका थिए ।
आजको बैठकमा ३ वटा विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची छ ।