पुलिस र हेल्प नेपालले जिते प्रधानमन्त्री कप क्लब भलिबलको उपाधि

राष्ट्रपाटी न्युज

असार ३१, २०८०

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप क्लब भलिबल लिगको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा पुलिसले अर्को विभागीय टोली एपीएफ क्लबलाई स्तब्ध पार्दा हेल्प नेपालले पुलिसलाई पराजित गर्‍यो ।

महिलातर्फको उपाधि भिडन्तमा पुलिसले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो। पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो। त्यसपछि तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले जित्दै पुलिसको उपाधि  जितेको हो। पुलिस अपराजित रहँदै च्याम्पियन बनेको हो। न्यु डायमन्ड स्पोर्ट्स क्लबले तेस्रो स्थान हात पार्‍यो ।

यसैगरी पुरुषतर्फको उपाधि भिडन्तमा हेल्प नेपालले बाजी मार्‍यो। निकै प्रतिस्पर्धात्मक फाइनलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो। हेल्प नेपालले पुलिसलाई २५–१९, ११–२५, २५–१८, २५–१८ ले स्तब्ध बनायो। तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपालले उनीहरूकै प्रेरणामा उपाधिमाथि कब्जा जमाएको हो। विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हात पार्‍यो ।

प्रतियोगिताको उपाधि विजेता टोलीले ६ लाख रुपैयाँ नगद पुरस्कार हात पारे । यस्तै उपविजेताले तीन लाख र तेस्रो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ पाए।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशका सांसद लिलबहादुर थापालगायतले पुरस्कार प्रदान गरेको थिए।


Published :असार ३१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media