पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान फेरि पक्राउ पर्न सक्ने

राष्ट्रपाटी न्युज

९ श्रावण २०८०

काठमाडौँ । पाकिस्तानमा पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खानको समस्या अन्त्य हुने देखिएको छैन ।

पाकिस्तानको निर्वाचन आयोगले सोमबार (जुलाई २४) इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको छ।

पाकिस्तानको निर्वाचन आयोगले यसअघि इमरान खानलाई धेरै पटक हाजिर हुन बोलाएको थियो तर इमरान खान उपस्थित भएनन् । यसपछि निर्वाचन आयोगले पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानलाई पक्राउ गर्ने जिम्मेवारी इस्लामावादका प्रहरी महानिरीक्षक (आईजी) लाई दिएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले गत वर्ष मुख्य निर्वाचन आयुक्त र निर्वाचन आयोग विरुद्ध अभद्र भाषा प्रयोग गरेको आरोपमा खान ९७०० र पार्टीका पूर्व नेता असद उमर र फवाद चौधरी विरुद्ध अवहेलनाको कार्यवाही सुरु गरेको थियो।

ईसीपी सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको इजलासले गत जुलाई ११ मा उमरलाई राहत प्रदान गर्दै खान र चौधरीको लागि गैर जमानती वारेन्ट जारी गरेको थियो। इजलासले सुनुवाइका लागि जुलाई २५ गते तोकेको छ ।

पाकिस्तानको निर्वाचन आयोगले आफ्नो नयाँ आदेशमा भन्यो कि खानलाई जनवरी १६ र मार्च २ मा नोटिस र जमानती वारेन्ट जारी गरिए पनि उनी आयोग समक्ष उपस्थित हुन गएनन । यसै सन्दर्भमा पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरेको छ ।

आज बिहान १० बजेभित्र पक्राउ गरी हाजिर गर्न आयोगले आदेश दिएको छ । यसबारे पाकिस्तानका पूर्वप्रधानमन्त्रीले यो सबैको पछाडि गृहमन्त्रीको षडयन्त्र रहेको बताएका छन् ।

यस विषयमा इमरान खानको प्रतिक्रिया पनि आएको छ । आफुलाई हटाउने प्रयास भइरहेको उनले बताएका छन । यसका लागि अर्को वारेन्ट जारी गरिएको थियो।

यससँगै पाकिस्तानी अदालतमा इमरानकी पत्नी बुशरा बीबी, दुई दिदीबहिनी र एकजनाविरुद्ध सुनुवाइ भएको छ । यसमा दिदीबहिनी र आफन्त दुवैलाई फरार घोषणा गर्नका लागि बहस सुरु भएको छ । (एजेन्सी)


Published :९ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media