अधिकांश समय नकारात्मक रहेको शेयर बजार अन्तिममा बढेर बन्द

राष्ट्रपाटी न्युज

साउन १७, २०८०

काठमाडौँ । बुधबार कारोबारको अधिकांश समय नकारात्मक रहेको शेयर बजार नेप्से परिसूचक, अन्तिम समयमा बढेर बन्द भएको छ ।

मौद्रिक नीति सार्वजनिक भएपछि निरन्तरजसो ओरालो लागिरहेको नेप्से, यस दिन भने अन्तिम समयमा बढेर बन्द भएको हो ।

नेप्से परिसूचक ९.२५ अंक बढेर २०८६.८४ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ।

यस दिन २६९ स्टकको ३५ हजार ६४५ पटकको कारोबारमा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बराबरको ९३ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

१३७ स्टकको मूल्य बढेको छ । यद्यपि, स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । आरबिबि म्युचुअल फण्ड १ को मूल्य सर्वाधिक ४.१४ प्रतिशत बढेको छ ।

त्यसैगरी, सिंगटी हाइड्रो इनर्जी र सिद्धार्थ इक्विटी फण्डको मूल्य ३.८९ प्रतिशत बढेको छ । प्रभु स्मार्ट फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ११ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सानिमा बैंकको संस्थापक शेयर करिब ९ करोडको खरिदबिक्री भएको छ भने प्रोग्रेशिभ फाइनान्सको करिब ७ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । जलविद्यूत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ ।


Published :साउन १७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media