भारतको कर्नाटकमा आगलागी, १४ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

अशोज २१, २०८०

भारत । भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

कर्नाटक राज्यको राजधानी बेंग्लोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेको समेत प्रहरीले जानकारी गराएको छ। पसल मालिक तथा जग्गा मालिकलाई अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ ।

‘प्रारम्भिक अनुसन्धानमा घटनापछि प्रहरी हिरासतमा रहेका पसल मालिकको लापरबाहीका कारण उक्त दुःखद् दुर्घटना भएको देखिन्छ,’ मुख्यमन्त्री सिद्धारमैहाले पत्रकार सम्मेलनमा भने, ‘घटनामा १४ जनाको मृत्यु भएको छ र ती सबै तमिलनाडूका हुन्, तीमध्ये अधिकांश विद्यार्थी छन्। उनीहरू आफ्नो शिक्षाका लागि पैसा कमाउन यहाँ काम गरिरहेका थिए।’

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले पनि आइतबार घटनास्थलको निरीक्षण गरेका छन्। मृतकका आफन्तजनलाई राहतस्वरूप जनही पाँच लाख भारतीय रुपैयाँ दिने राज्य सरकारले यस पहिले नै घोषणा गरिसकेको छ । (रासस/सिन्ह्वा)


Published :अशोज २१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media