रुकुमपश्चिम जीप दुर्घटनाः गम्भीर घाइतेमध्ये दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

मंसिर ३, २०८०

रुकुमपश्चिम । रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका-१३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका-२ का सात वर्षीय बालक प्रतिक बुढा छन् ।  बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए ।

उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौंबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडाैं पठाउने तयारी भइरहेको छ ।

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी-८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो ।

घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।


Published :मंसिर ३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media