काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूसँग बेच्नका लागि मदन-वीपी कोही नभएको बताएका छन् । ठूला भनिएका दलहरूले मदन-वीपीको नाम बेच्ने गरेको बताउँदै उनले आफूहरूसँग सुशासनको एजेण्डामात्र भएको बताए ।
सभापति लामिछानेले नेताहरूले नातपात र साला-भतिजालाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पदको बाँडफाँड नगर्ने स्पष्ट पारे।
विश्वविद्यालयमा तालाबन्दी गरेर देशको भविष्य नबन्ने बताउँदै त्यहाँको ताला खोल्नुपर्ने आवश्यक रहेको बताए।
उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गरे। उनले रास्वपाको उम्मेदवार प्राइमरी निर्वाचनबाट चुनिएर आउने स्पष्ट पारे।
उनले रास्वपाले आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने बताए। त्यसका लागि कुनै दलसँग पनि गठबन्धन नगर्ने उद्घोष गरे। उनले रास्वपासँग देश हाँक्नसक्ने होनहार व्यक्तिहरु रहेको भन्दै बिगार्नेलाई तुरुन्तै कारबाही गर्ने गरेको बताएका थिए।