माओ जयन्तीमा चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता- ‘ताइवानलाई अलग हुन दिन्नौं’

बेइजिङ । चीन र ताइवानबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । यस विषयमा दुवै देशका प्रमुखले बयानबाजी जारी राखिरहेका छन ।

हालै जनवादी गणतन्त्र चीनका संस्थापक माओ त्सेतुङको १३०औँ जन्मजयन्तीको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनसँग एकता गर्न आवश्यक रहेको र आफूले यसलाई कुनै पनि हालतमा अलग हुन नदिने दाबी गरेका छन् ।

सीएनएनका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको भनाइ यस्तो समयमा आएको हो, जब ताइवानमा अर्को महिना अर्थात जनवरी १३ मा राष्ट्रपतीय निर्वाचनको तयारीमा जुटिरहेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको सो घोषणा पछि चीनले चुनाव अघि ताइवानमाथि मानसिक दबाब दिन खोजेको आशंका गरिएको छ । यसबाहेक उसले ताइवानलाई उक्साउने प्रयास पनि गरिरहेको अन्तराष्ट्रिय मिडियाहरूले जनाएका छन ।

चीनले ताइवानमाथि आक्रमण गर्ने तयारी गरिरहेको बताइरहेको बेला ताइवानविरुद्ध सी जिनपिङको यी भनाइ पछि थप बल पुगेको छ । यसअघि पनि चीनले ताइवानको सामुद्रिक क्षेत्र नजिकै पटक पटक लडाकु विमान पठाएर ताइवानलाई उक्साउने प्रयास गरेको समाचार बाहिर आएका थिए ।

यसै वर्षको जुन महिनामा चीनले ताइवानको सामुद्रिक सीमामा ४४ किलोमिटर भित्र ८ वटा लडाकु विमान पठाएको थियो । यसबाहेक गत वर्ष सेप्टेम्बरमा १७ चिनियाँ विमान र चारवटा युद्धपोतले ताइवानको हवाई क्षेत्र उल्लंघन गरेको ताइवानको आरोप थियो ।

चीनको सम्भावित कारबाहीबाट समस्यामा परेको ताइवानले आफ्ना ४५ वटा सैन्य आधारमा एन्टी–ड्रोन प्रणाली जडान गरेको छ ।

 


Published :पुस १२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media