एमाले कैलालीको निर्वाचन प्रक्रिया सुरु

राष्ट्रपाटी न्युज

फाल्गुन ८, २०८०

धनगढी । आइतबार उद्घाटन गरिएको नेकपा एमाले कैलालीको नवौं अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार निर्वाचन प्रक्रिया सुरु भएको छ।

जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन, दाबी विरोधलगायतका सूचना जारी गर्दै प्रक्रिया सुरु गरेको हो। आज साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणको प्रक्रिया अघि बढाइने निर्वाचन कमिटीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

७ बजे उम्मेदवारको नामावली प्रकाशन गरेर उजुरी तथा दाबी विरोधको काम सकेर आजै राति सवा १० बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कमिटीले जनाएको छ।

निर्वाचन कमिटीले बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदानको कार्यतालिका तय गरिएको जनाएको छ। अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्।

अध्यक्षका आकांक्षी डेजी पाण्डे र यज्ञराज ढुङ्गानाले भने उम्मेदवारी घोषणा गरेका छैनन्। उनीहरू दुवै जनाले पनि आजै उम्मेदवारी घोषणा गरी दर्ता गर्ने तयारी गरेका छन्।


Published :फाल्गुन ८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media