संविधान र परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरु एकढिक्का हुने बेला आयोः मन्त्री तामाङ

काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संविधान र परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरु एकढिक्का हुने बेला आएको बताएका छन् ।

काभ्रेको अनैकोटमा आयोजित २६ औँ साँस्कृतिक सहिद दिवस एवं सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।

‘हामीले भनेको र सोचेको सबै कुरा समावेश नभए पनि विगतका विभिन्न चरणमा घोषणा गरिएका संविधानभन्दा अग्रगामी संविधान बनेको छ, कमसेकम गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रलाई संस्थागत गरेका छौँ,’ मन्त्री तामाङले भने, ‘यी राजनीतिक उपलब्धिहरुलाई कमजोर हुन नदिनका लागि फेरि सबै क्रान्तिकारीहरु एकढिक्का हुने बेला आएको छ।’

मन्त्री तामाङले यो वा त्यो बहानामा क्रान्तिकारीहरु अलग्गिएर बस्न नहुनेमा समेत जोड दिए। उनले भने, ‘यदि कसैले आफूलाई क्रान्तिकारी र गणतन्त्रवादी शक्ति भन्छन् भने यो संविधानको रक्षाको निम्ति सबै एक ठाउँमा हुन आवश्यक छ। संविधानको विरुद्धमा हुन सक्ने सबैखाले गतिविधि र षड्यन्त्रका विरुद्ध हामी एक भएर लाग्नुको विकल्प छैन।’

संविधान र परिवर्तित उपलब्धिका रक्षाका निम्ति समाजवादी मोर्चा बनेको समेत मन्त्री तामाङको भनाई थियो। टुटफुट र विभाजनको श्रृंखला जारी रहे अहिलेको परिवर्तनलाई रक्षा गर्न सक्दैनौँ कि भन्ने प्रश्न बलियो भएर जाने उनको भनाई थियो।

त्यस्तै, क्रान्तिकारी शक्तिहरु कमजोर हुँदा प्रतिक्रान्तिकारीहरुले परिवर्तन र व्यवस्था विरोधी कदम चालिरहेको समेत उनले उल्लेख गरे। ‘प्रतिक्रान्तिकारीहरु जसले यो व्यवस्था र परिवर्तनको विरोध गरेर आफ्नो राजनीति धानिराखेका छन्, उनीहरुले संसददेखि सडकसम्म राजतन्त्र पुर्नस्थापना गर्ने सपना देखिरहेका छन्, त्यो सम्भव छैन,’ मन्त्री तामाङले थपे, ‘परिवर्तन विरोधीहरुबाट जसरी जनतालाई दिग्भ्रमित पार्ने काम भइरहेको छ, त्यसलाई परास्त गर्नका लागि पनि हामी एकढिक्का हुन जरुरी छ।’


Published :५ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media