जापानका रमाइला मेयर मुरायामाको बुढानीलकण्ठ भ्रमण

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८१

बुढानीलकण्ठ। जापानको ओईजुमी नगरपालिकाका मेयर मुरायामाले बुढानीलकण्ठ नगरपालिका भ्रमण गरेका छन् ।

जेठ ०१ गते मेयर तोसिआकी सहित उनका स्वकिय सचिव ताकोई सिहायुकी, उक्त नगरपालिकाका बहुसाँस्कृतिक विभाग प्रवन्धक फुकुदा मासामी सान र सोही विभागका सान खुनिको हासेगावालाई नगर प्रमुख मिठाराम अधिकारीले स्वागत गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिका र ओईजुमी नगरपालिका विच रहेको भगिनी सम्बन्ध विस्तार गर्ने उद्देश्य सहित नेपाल साझा समाज जापानको समन्वयमा उनिहरु नगरपालिका आएका हुन् ।

भेटघाटको क्रममा औपचारीक कार्यक्रम आयोजना गरी दुई नगरपालिकाले आ-आफ्नो क्षेत्रमा गरिरहेको विकासका असल अभ्यास सम्बन्धी विशेष अन्तरक्रिया भएको थियो ।

बुढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाले स्वागत मन्त्वय राख्दै नगरपालिकाको भौगोलिक बनावट, साँस्कृतिक विविधता र यहाँका सम्भावना र चुनौतीको विषयमा जानकारी गराएकी थिइन् ।

नगर प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले श्रमिक सुचीकरण, स्वास्थ्य बीमा, १० कक्षा सम्मका विद्यार्थीहरुलाई निःशूल्क दिवा खाजा, खोला सरसफाई अभियान, सामुदायिक जनावर व्यवस्थापन, कृषिका प्राविधिक औजार वितरण, र विभिन्न साँस्कृतिक तथा खेलकुद महोत्सव र उत्सव जस्ता नगरपालिकामा विगत २ वर्ष यता संचालन भईरहेका विकासका उत्कृष्ठ अभ्यासहरुबारे वृष्तृत जानकारी दिएका थिए ।

अन्तरक्रियाको क्रममा अत्यन्त रमाइला र चटपटे हर्कत गरिरहने मेयर मुरायामा तोसिआकीले बुढानीलकण्ठ नगरपालिकाले गरेको स्वागत र सत्कारलाई विशेष धन्यवाद व्यक्त गर्दै यहाँको फोहोर मैला र विपद व्यवस्थापन चुनौतिको विषयमा आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए ।

उनले यहाँका यूवाहरुलाई आफ्नो नगरपालिकामा रोजगारीको अवसर सिर्जना गर्दै उनिहरुले त्यहाँबाट सिकेका अभ्यास नेपालमा प्रयोग गर्न उत्साहित गर्ने बताए । सोहि क्रममा मेयर तोसिआकीले बुढानीलकण्ठका जनप्रतिनिधि र सम्बन्धीत प्रशासनीक कर्मचारीहरुलाई आफ्नो नगरपालिकाको अवलोकन भ्रमण गर्नुहुन निमन्त्रणा गरेका थिए।

कार्यक्रममा आफ्नो मन्तव्य मार्फत नगर प्रमुख मिठाराम अधिकारीले ३ महिना अघिको जापान भ्रमण उत्तिकै फलदाई भएको अनुभव सुनाउँदै दुई नगरपालिका विचको भगिनी सम्बन्ध कायम राख्न सधै साथ र सहयोग रहने प्रतिवद्धता जाहेर गरेका थिए ।

आज भएको यस कार्यक्रममा जापानका प्रतिनिधि सहित सहकार्य भुमिकामा रहेको नेपाल साझा समाजका अध्यक्ष वुद्धि सेरचन, सल्लाहकार रन्जय अमात्य, महासचिव निरज गुरुङ र पूर्व महासचिव गोपाल पोखरेलको उपस्थिति रहेको थियो ।

नगरपालिकाको तर्फबाट मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा सहित सम्पुर्ण जनप्रतिनिधी, कर्मचारी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


Published :जेष्ठ १, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media