बालउद्धारमा श्रीकृष्ण जन्माष्टमी कार्यक्रम (फोटो फिचर)

काठमाडौँ । बालउद्धार माध्यमिक विद्यालयमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा एक रोचक कार्यक्रमको आयोजना गरिएको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा रहेको सो विद्यालयले भगवान् श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा विविध सांस्कृतिक कार्यक्रम र प्रदर्शनीको आयोजना गरेको हो ।

विद्यालयका पूर्व प्रधानाध्यापक होमप्रसाद वाग्लेले उद्घाटन गरेको सो कार्यक्रममा विद्यालयका साना बाबुनानीहरुले भगवान् श्रीकृष्ण र राधाको मेकअप र भेषभूषामा सजिसजाउ भएर कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले भगवान् श्रीकृष्णका पिता वसुदेवको भेषभूषामा सजिएर श्रीकृष्णका स्वरुप एक सानो बालकलाई ढकीमा राखेर उचालेको दृश्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

विद्यालयका संगीत शिक्षक कौशलकुमार अर्यालको संयोजनमा साना विद्यार्थीहरुसहित भगवान् श्रीकृष्णसँग सम्बन्धित विभिन्न भजनहरु प्रस्तुत गरिएको थियो । सोही अवसरमा विद्यालयका अन्य विद्यार्थीहरुले भगवान् श्रीकृष्णमा आधारित भजनहरुमा विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

कक्षा १० को सेक्सन ‘ए’ की छात्रा तृष्णा अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक मुरारीकुमार ढकाल, परीक्षा प्रमुख वामदेव भट्ट, अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र बुढाथोकी, निमावि तह इन्चार्ज नगेन्द्र खरेल लगायतका शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउने गर्दछन् ।  । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा हिन्दू पञ्चाङ्गअनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रीका रुपमा लिइन्छ ।

यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व भोलि (सोमबार) परेको छ । सो अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।


Published :९ भाद्र २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media