बालउद्धारमा बाल दिवस (फोटोफिचर)

राष्ट्रपाटी न्युज

२८ भाद्र २०८१

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा रहेको बालउद्धार माध्यमिक विद्यालयमा बाल दिवस मनाइएको छ ।

६०औँ बाल दिवसको पूर्वसन्ध्यामा विद्यालयले भदौ २८ गते शुक्रबार बाल दिवस मनाएको हो ।

बाल दिवसका अवसरमा विद्यालयले गीत, नृत्यलगायतका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” नारा रहेको यस वर्षको ६० औँ बाल दिवसको उपलक्ष्यमा आयोजित सो कार्यक्रममा नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरु सहभागी सो कार्यक्रमका अवसरमा आयोजना गरिएको प्रतियोगितात्मक प्रतिस्पर्धामा अञ्जलीको ग्रुपले प्रथम स्थान हासिल गरेको थियो । त्यसैगरी स्मृतिको ग्रुप द्वितीय भयो भने खुसी मगर (सिंगल नृत्य) ले तृतीय स्थान प्राप्त गरिन् ।

बालबालिकालाई प्राथमिकता दिएर आयोजना गरिएको सो समारोहको अध्यक्षता कक्षा ९ को सेक्सन एमा अध्ययनरत छात्र एवं बालक्लबका अध्यक्ष साजन खड्काले गरेका थिए भने प्रतियोगिताको निर्णायक मण्डलमा कक्षा १२ मा अध्ययनरत छात्रछात्राहरु राजेश विक र सीता उपाध्याय रहेका थिए ।

कक्षा ८ र ९ मा अध्ययनरत छात्राहरु क्रमशः माया तामाङ र पुष्पाञ्जली मल्लले सञ्चालन गरेको सो कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक मुरारीकुमार ढकाल, परीक्षा प्रमुख वामदेव भट्ट, अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र बुढाथोकी, निमावि तह इन्चार्ज नगेन्द्र खरेल, बालविकास तह इन्चार्ज रमलादेवी शर्मालगायतका शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको बाक्लो उपस्‍थिति रहेको थियो ।

यस वर्षको बाल दिवस भोलि (भदौ २९ गते) शनिबार परेको छ ।


Published :२८ भाद्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media