आफूहरु सरकारमा हुँदा भ्रष्टाचारीको नीद हराम भएको माओवादी उपाध्यक्ष श्रेष्ठको दाबी

राष्ट्रपाटी न्युज

१० कार्तिक २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफूहरू सरकारमा हुँदा भ्रष्टाचारीको नीद हराम भएको दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित माओवादी केन्द्रको खबरदारी सभालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

‘कमरेड प्रचण्डको नेतृत्वमा पछिल्लो सरकार गठन भएपछि पहिलो दिन नै प्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषद्को बैठक बसेर घोषणा गर्नु भो हाम्रो सरकारको मूल नीति सुशासन, समृद्धि र सामाजिक न्याय,’ उनले भने, ‘हामीले भ्रष्टाचार, ठगी र देशलाई लुट्नेका विरुद्ध ठुलो अभियान सुरु गरेका थियौँ ।’

देशमा राणा शासनको अन्त्य पछि माओवादी सरकारले नै सबैभन्दा राम्रो काम गरेको श्रेष्ठले दाबी गरे । ‘हामी दाबा साथ भन्छौँ, यो देशमा राणा शासनको अन्तपछाडि ००७ साल पछि बनेका कुनै सरकारले नगरेको काम हाम्रो सरकारले ग-यो । भ्रष्टाचारीलाई कानुन र कारबाहीको दायरामा ल्यायौँ’, उनले भने ।

आफ्नो सरकारमा रहेका बेला भ्रष्टाचारी थरथर काम्ने गरेको पनि उनले दाबी गरे । उनले भने, ‘त्यतिखेर प्रधानमन्त्री र यो गृहमन्त्री यो रहँदासम्म सुत्न नपाइने भो बा । नीद हराम गर्दियो । भ्रष्टाचारी ठगले त्यसो भन्थे । हामीले भनेका थियौँ जनताले सुखका साथ सुत्ने दिन आए ।’


Published :१० कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media